काठमाडौं। मुस्लिम बहुल ६ वटा देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका छन् । आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।उनीहरूले अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ । उसले कतार जाने आफ्नै सबै विमानसेवा स्थगन गरेको छ ।
साउदी अरेबियाले एउटा गोप्य मुद्दामा कतारले सम्प्रभुतामाथि नै खलल पुर्याएको गम्भीर आरोप लगाएको छ भने इजिप्टको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको बताइएको छ ।इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्याउने गरेको छ ।
नेपाल पनि सतर्क
सरकारले खाडी मुलुकले कतारसँगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहाँ रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले खाडीमा रहेका नेपाली राजदूतसँग त्यहाँको पछिल्लो घटनाक्रमबारे नियमित सम्पर्कमा रहेको जानकारी दिनुभयो ।
अहिलेसम्म नेपालीलाई कुनै समस्या आउने अवस्था नरहेको राजदूतहरूले अवगत गराएको उहाँले बताउनुभयो । कतारमा चार लाखभन्दा बढी नेपाली छन् । उनीहरूलाई कुनै मानवीय संकट आइपर्न सक्छ । त्यसैले यसबारे हामीले त्यहाँस्थित राजदूतलाई नियमित रूपमा जानकारी गराउन र सतर्क रहन भनेका छौं ।
खाडीस्थित सबै दूतावाससँग हामी सम्पर्कमा छौं’, उहाँले भन्नुभयो । कतारसँग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहाँ हाहाकार हुन सक्ने र त्यसले मानवीय संकट उन्पन्न हुन सक्ने हुँदा त्यसप्रति सचेत रहन परराष्ट्रले दूतावासलाई भनेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।