Latest Updates :

२०२२ मा कतारमा हुने विश्वकपमा ३२ रास्ट्रमा थप १६ गरी एकै चोटी ४८ राष्ट्रको खेल हुने, विश्वकप १ महिनाबाट लम्बिएर १ महिना २८ दिन हुने !

SHARE THIS POST :


मस्को (एपी) – २०२२ को विश्वकप आयोजक कतारले आफूहरू यसै प्रतियोगितामा सहभागी टोलीका संख्या ४८ पु-याउने विषयमा खुला संवाद गर्न तयार भएको र उक्त संरचनाको प्रतियोगिता एक्लै आयोजना गर्न सक्षम भएको बताएको छ।

गत वर्ष फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२२ को विश्वकपबाटै थप १६ टोलीलाई सहभागी गराउने र त्यसका लागि आयोजक कतारका छिमेकी राष्ट्रलाई सहआयोजनाको अधिकार दिने इच्छा व्यक्त गरेका थिए। तर आतंकवादी गतिविधिमा साथ दिएको भन्दै कतारमाथि एक वर्ष नाकाबन्दी लगाएका अन्य केही खाडी मुलुक भने फिफाको प्रस्तावमा अनिच्छुक देखिएका थिए।



गत महिना मस्कोमा इन्फान्टिनोको अध्यक्षतामा बसेको फिफा काउन्सिल बैठकले आयोजक राष्ट्रले चाहेमा मात्र आयोजनास्थल परिवर्तन गर्न सक्ने निर्णय गर्दा कतारमाथिको दबाब हटेकोे थियो।

कतारका वरिष्ठ फुटबल अधिकारी नासिर अल खातिरीले शनिबार ४८ टोली सहभागी प्रतियोगिता दोहा र त्यसआसपासका आठ रंगशालामा गर्न सकिने बताएका हुन्।

‘यो सम्भव छ र त्यसका लागि हामीले यसको कार्ययोजना तयार पार्दै त्यहीअनुरूप काम गर्नुपर्छ,’ अल खातिरीले भने, ‘४८ टोली सहभागी भएको प्रतियोगिता राम्रो संरचनामा गर्न सकियो भने २०२२ को संस्करण उत्साहपूर्ण हुनेछ।’

कतारले खुला सम्भावनाका लागि तयार रहेको बताए पनि प्रतियोगितामा सहभागी टोलीको संख्या बढाउने वा नबढाउने अधिकार पनि कतारकै हातमा छ।

‘२०२२ मै सहभागी टोलीको संख्या बढाउन कुनै समस्या छैन तर यो संरचना फुटबलको हितमा नभएको जस्तो लागेमा हामी यसमा अडिग रहने छैनाैं,’ अल खातिरीले भने, ‘तर यस संरचना उत्साहपूर्ण हुने र परम्परागत ढाँचाभन्दा माथि उठ्ने जस्तो लाग्यो भने हामी फिफासमक्ष प्रस्ताव राख्नेछाैं। यसले प्रतियोगिताको रौनक थप बढाउनेमा हामी आशावादी छाैं।’

३२ टोलीलाई प्लेअफ खेल खेलाउने र तीमध्येका १६ विजेता टोलीले अन्य ३२ राष्ट्र सम्मिलित समूहचरणमा प्रतिस्पर्धा गर्ने एक विकल्पको रूपमा हेरिएको थियो।

तर २०१४ मा मस्कोमा बसेको फिफा काउन्सिल बैठकले उक्त विकल्प खारेज गरेको थियो। फिफाले प्लेअफमा पराजित हुने टोली प्रमुख प्रतियोगिताअघि नै बाहिरिने र यसले उनीहरूको मनोबल घटनाउने भन्दै उक्त प्रस्ताव खारेज गरेको थियो । फिफाले २०२६ बाट मात्र सहभागी टोलीको संख्या ४८ पु-याउने निर्णय गरेको थियो । २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन् । जहाँ सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहमा ३ टोली रहनेछन्।

फिफाले २०२२ को विश्वकप जुन–जुलाईबाट सार्दै नोभेम्बर–डिसेम्बरमा आयोजन हुने जनाइसकेको छ। यदि सहभागी टोलीको संख्या बढाएमा प्रतियोगिता थप २८ दिन लम्बिनेछ।

‘हामी अहिले ३२ टोलीकै संरचनाका लागि तयारी गरिरहेका छाैं,’ अल खातिरीले भने।

फिफा र कतारका फुटबल अधिकारीले अर्को वर्षबाट सुरु हुने २०२२ को विश्वकप छनोट खेलअघि नै प्रतियोगिताबारे अन्तिम निर्णय लिइसक्ने बताइएको छ।

कतारका राजा अर्को साता मस्कोमा हुने विश्वकप फाइनल हेर्न जाँदा फिफा अधिकारीसँग यस विषयमा छलफल हुने अनुमान गरिएको छ। रूस र साउदी अरेबियाबीचको विश्वकपको उद्घाटन खेल हेर्न भने कतारका राजकुमार मैदानमा उपस्थित भएका थिए। साउदीले कतारले आयोजन गर्ने विश्वकपको विरोध गर्दै आएको छ।

अल खातिरीले गत वर्षको नाकाबन्दीका कारण रंगशाला निर्माणका लागि सामग्री ल्याउन केही कठिन भए पनि निर्माण भने नरोकिएको बताए।

‘हामीले रंगशाला निर्माणमा कुनै ढिलाइ गरेका छैनौं र यसको लागत पनि बढेको छैन,’ उनले भने, ‘राजनीतिक गतिरोधले हामीलाई कुनै असर गरेको छैन।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger