काठमाडौं, ३१ बैशाख । पार्टी एकताको नजिक रहेका एमाले र माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको छ। आगामी बजेट, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहत ल्याउने प्रधानमन्त्रीको निर्णय लगायतका विषयमा प्रम ओली एकलौटी ढंगले अघि वढिरहेको भन्दै माओवादीले असन्तुष्टि जनाएको हो।
पार्टी एकतानजिक रहेको र संयुक्त सरकार रहेकाले कतिपय महत्वपूर्ण विषयमा छलफल हुनुपर्ने भएपनि एमालले छलफल नगरेको भन्दै माओवादी नेताहरुले असन्तुष्टि जनाएका छन्।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बजेट निर्माण प्रक्रिया र श्वेतपत्र जारी हुँदा आफूहरुसँग कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा गरेको अरुण तेश्रो जलविद्युत् आयोजनाको शिलान्यासप्रति पनि माओवादी रुष्ट देखिएको छ।
आफ्ना विभागिय मन्त्रीहरुलाई थाहै नदिई ओली र मोदीले आयोजनाको शिलान्यास गरेपछि माओवादी ओलीप्रति रुष्ट देखिएको हो।
उर्जा तथा जलश्रोत मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अन्य अधिकारीलाई बोलाईए पनि शिलान्यास कार्यक्रममा उर्जामन्त्री वर्षमान पुनलाई नबोलाइएको माओवादीले जनाएको छ। राजधानी दैनिकबाट