बलात्कारको रिपोर्ट लेखाउन गएकी युवतीलाई प्रहरी ले नै धम्की दिदै गरे बलात्कार
थप ९ सय किलोमिटर सडक खन्दै मेलम्ची, अझै ३ वर्ष धुलोको सास्ती
१७ माघ, काठमाडौं । मेलम्ची आएपछि काठमाडौंको धुलो हट्ला ? सबैको अपेक्षा त त्यही छ । तर, त्यो आशा छिट्टै निराशा परिणत हुँदैछ । किनभने, मेलम्ची आयोजनाले अध्ययन गरिरहेको र गरिसकेको करिब नौ सय किलोमिटर नयाँ पाइप बिछ्याउनै बाँकी छ ।
चक्रपथभित्रै तीन सय किमि पाइप बिछ्याउने कामका लागि ठेक्का नै भएको छैन ।
चक्रपथबाहिरको चार सयदेखि पाँच सय किमिमा वितरण सञ्जाल विस्तारका लागि अध्ययन हुँदैछ ।
अहिले काम भइरहेका क्षेत्रभित्र करिब सय किमिमा पनि पाइप बिछ्याइसकिएको छैन । करिब ९० किमि पाइपलाइनको काम बाँकी छ ।
थोक वितरण प्रणालीको १० र वितरण सञ्जालका लागि ८० किमि पाइप बिछ्याउने काम सकिएको छैन ।
काठमाडौं उपत्यका धुलोमुक्त कहिले हुन्छ ? सरकारी अधिकारीहरुसँगै यसको जवाफ छैन ।
पाइप बिछ्याउने र सडक विस्तारको कामका कारण अहिले उपत्यकाका सडकमा धुलो र हिलोको ‘साम्राज्य’ छ ।
टेन्डर नै अलपत्र
साढे तीन सय किमि पाइप बिछ्याउन टेन्डर नै गरेको छैन, सरकारले । जबकि, मेलम्चीको पानी वैशाख ०७५ देखि उपत्यकामा वितरण गर्ने दाबी गरेको थियो, यसअघि ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन एकाइ (पीआईडी)ले बजेट अभाव भएपछि धुम्बाराहीदेखि कलंकीसम्म चक्रपथभित्र पाइप बिछ्याउने टेन्डर निकाल्न सकेको छैन ।
करिब आठ अर्ब रुपैयाँको जोहो एसियाली विकास बैंक (एडीबी)मार्फत् नै गर्ने योजनामा छ, पीआईडी । त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको पीआईडीका प्रवक्ता लीलाप्रसाद ढकाल बताउँछन् ।
चक्रपथभित्रको बाँकी क्षेत्रमा पाइप बिछ्याउन गरिएको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई एडीबीले पुनरावलोकन गरिररहेको छ, आफ्नै प्राविधिक टोलीमार्फत् । अध्ययन सकिएपछि मात्रै थप ऋण दिने/नदिने निर्णय आउनेछ ।
महाराजगञ्ज, सामाखुशी, कलंकी, पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा सडक खन्ने तयारी छ
एडीबीले ऋण नदिए सरकार आफैंले बाँकी क्षेत्रमा नयाँ पाइप बिछ्याउन बजेट दिनुपर्नेछ । किनभने, थोत्रा पाइप नफेरिए चुहावट जटिल बन्ने निश्चित रहेको अधिकारीहरु बताउँछन् ।