Latest Updates :

इञ्जिनियरले १ वर्ष लाग्छ भनेको सडक एक सातामै बन्यो

SHARE THIS POST :
, रामेछाप । सायद यसपटक स्थानीय चुनाव नभएको हुन्थ्यो त सायद उत्तरी रामेछापका बासिन्दाले कम्तिमा ६ महिना गाडी चढ्न पाउने थिएनन् । किनकि डिभिजन सडक कार्यालयले दशैंअघि खिम्तीबाट माथि गाडी चल्ने गरी सडक र पुल बनाउन नसकिने बताइसकेको थियो ।



गाउँमा आफूले चुनेका जनप्रतिनिधि भएपछि के फरक हुँदो रहेछ भन्ने यसपटक उत्तरी रामेछापका जनताले आफैंले देख्न र भोग्न पाए । त्यसैले उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवार र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गवहादुर सुनुवारको चर्चा अहिले रामेछापमा साहसिक कामका कारण चुलिएको छ ।

सरकारी कर्मचारीहरुले एक वर्षमा पनि बन्न गाह्रो छ भनी ओठ लेब्र्याएर हिँडेको सडक जनप्रतिनिधिहरुको अथक मेहनेतले एक हप्तामै खुलेको छ । सडक पुनः सुरु नहुन्जेल उनीहरुले खिम्ती खोलाको बास छाडेनन् ।

गत असार ३१ गते आएको विनासकारी बाढीले पक्की पुल र करीव २ किलोमिटर सडकसमेत बगाएको रामेछापको लिखु गाउँपालिकाको खिम्ती खोलामा स्थानीय जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा अस्थायी सडक निर्माण गरी काम सुरु गरिएको एक हप्तामा नै सडक सञ्चालनमा ल्याइएको छ ।

खिम्तीको छतिउने खोलामा आएको बाढीले खिम्ती-फर्पू-नमाडी-वेताली-रस्नालु सडक खण्डमा एउटा पक्की पुल बगाउनुको साथै खिम्ती खोला किनारको करीव २ किलोमिटर सडक समेत बगाएको थियो ।

त्यस बिनासकारी बाढीले छतिउने र खिम्ती खोला किनारका ३ घर परिवारका ५ जना मानिसको ज्यानसमेत लिएको थियो ।

बोलेर, देखेर र हेरेर हुँदैन गर्नैपर्छ

बाढीले सडक बगाएपछि रामेछापका दुईवटा गाउँपालिकाहरु उमाकुण्ड र गोकुलगंगाको सदमुकाम मन्थलीसँगको सम्पर्क टुट्यो । मन्थली आउनका लागि ती २ गाउँपालीकाका नागरिकहरु ६० किलोमिटर घुमेर दोलखाको जिरी हुँदै मन्थली आउनु पर्थ्यो ।

स्थानीयले सास्ती व्यहोरेपछि सडक खोल्नका लागि गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार र उमाकुण्डका अध्यक्ष शेरबहादुर सुनुवार सडक निर्माणको लागि सहयोग माग्दै सडक डिभिजन, स्थानीय प्रशसान लगायतका निकायमा धाए । तर कतैबाट सकारात्मक जवाफ पाएनन् ।

अझ कामको प्रमुख जिम्मेवार संस्था सडक डिभिजन कार्यालयले त हिउँद अगाडि काम नै गर्न सनकिने बतायो । कतैबाट पनि सकारात्मक जवाफ नपाएपछि दुईवटा गाउँपालिका अध्यहरु जिल्ला प्राविधिक कार्यालय रामेछापका प्राविधिक हश्चिन्द्र वरालको प्राविधिक सहयोग लिएर काममा लागे ।

यो काममा पूर्व सांसद एवं एमाले वैकल्पिक केन्दीय सदस्य देवशंकर पौडेलले पनि रातदिन खटेर सघाए । डोजर लगाएर खोलाले थुपारेको ढड्यान पन्छाउँदै काम सुरु गरको एक हप्तामा बाटो खुल्यो ।

आइतबार ट्याक खुलेको सो सडकमा सोमबारबाट नियमित रुपमा साना गाडी र ट्याक्टरहरु चल्न लागेका छन् ।

‘सुरुको एक हप्ता कतैबाट सहयोग हुन्छ कि भनेर हामी कुरामै अल्मलियौं । तर कतैबाट सहयोगको संकेत नपाएपछि हामी असम्भव भन्ने कुरा केही पनि छैन, बोलेर, हेरेर वा देखेर हैन गर्यो भने मात्र सम्भव हुन्छ भनेर हामी काममा लाग्यौं, एक हप्तामा बाटो खोलेरै देखायौं’, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले भने ।

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले पनि आफूहरुलाई सरोकारवाला निकायले सहयोग नगरेको गुनासो गरे । उनले भने, ‘हामीलाई राज्यका जिम्मेवार निकायले असहयोग गरे, तर हामीले गरेर देखायौं ।’

जनप्रतिनिधि हुनुको अर्थ बल्ल खुल्यो

२२ दिनसम्म सडकमा यातायात नचल्दा रामेछापका २ वटा गाउँपालिकाका सर्वसाधारणले पाउनु सास्ती पाए । उनीहरुले ६० किलोमिटर बाटो घुमेर जिरी हुँदै मन्थली आउजाउ गरे । त्यो पनि बिना सिट र महँगो गाडी भाडा तिरेर ।

नागरिकहरुको यही सास्ती देखेरै जे होला भनेर काम सुरु गरिएकोमा सोचे भन्दा पनि बढी सफलता मिलेको रामेछापका पूर्व सांसद एवं एमाले वैकल्पिक केन्द्रीय सदस्य देवशंकर पौडेल बताउँछन् ।

‘बाटो बन्द हुँदा जनताले धेरै दुःख पाए । बाटो कसरी खोल्न सकिएला भनेर दुईवाट गाउँपालिकाका अध्यक्षसँग बसियो । उहाँहरुले अत्यन्त जाँगर देखाउनु भयो । १५ दिनमा त खोलो पुर्न पनि सकिँदैन जस्तो लागेको थियो तर एक हप्तामा बोटो बनाएर ग्राभेल गरी यातायात नै चलाईयो । वास्तवमा जनप्रतिनिधि हुँदाको अर्थ र महत्व अहिले खुल्यो’, पौडेलले भने ।

सडक र पुल बनाउन सरकारसँग माग

यसैबीच जिल्ला समन्वय समिति रामेछाले खिम्तिखोला किनारमा बगाएको सडक तथा छतिउने खोलाको पक्की पुल निर्माणको लागि सरकारसँग माग गरेको छ । समन्वय समितिको बैठकले सो सडक र पुल तत्काल निर्माणको लागि सरकारसँग माग गरिएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए ।

अहिले खिम्ती खोला र छतिउने खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात चलाइएको भए पनि यस स्थानमा पक्की पुल नबन्दासम्म बाढी आएको बेलामा यातायात सञ्चालन गर्न कठिनाई हुने भएकोले स्थायी पुल र सडक निर्माणको लागि समन्वय समितिले माग गरेको हो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger