Latest Updates :

अर्बौंको घाटा बेहोरिरहेको फेसबुकको वास्तविक ‘अपराध’ के हो ?

SHARE THIS POST :
एजेन्सी । फेसबुकमार्फत प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरिएको खबर बाहिर आएपछि फेसबुक कम्पनीले अहिले अन्तर्राष्ट्रिय समुदायबाट आक्रामक प्रतिक्रिया पाइरहेको छ । फेसबुकसँगै अर्को सूचना विश्लेषक कम्पनी क्याम्ब्रिज एनालिटिका पनि यस कार्यमा संलग्न भएको आरोप छ । त्यसैले हाल यी दुवै कम्पनी अन्तर्राष्ट्रिय जगतमा विवादका मुख्य विषय बनेका हुन् ।

अवैधानिक रुपमा हासिल गरिएका प्रयोगकर्ताका गोप्य जानकारीहरु २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनाव र बेलायत बर्हिगमनमा प्रयोग भएको पत्ता लागेपछि अहिले फेसबुकले पछिल्लो ४ वर्ष यताकै सबैभन्दा कठिन दिनको सामना गर्नुपरिरहेको बताइएको छ । यो विवादले ठूलो रुप लिँदै गएपछि फेसबुक सूचना सुरक्षाका वरिष्ठ अधिकारी एलेक्स स्टामोसले सोमबार कम्पनी छाड्ने निर्णय सुनाइसकेका छन् ।

यसअघि रुसले अमेरिकी राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारे भइरहेको अनुसन्धानमा उनी सक्रिय भएर लागिपरेका थिए । तर यस घटनाका कारण आफू धेरै तनावमा आइसकेको बताउँदै उनले आगामी डिसेम्बरमै राजीनामा दिने बताएका हुन् । यसै कारणले फेसबुकको स्टक ७ प्रतिशतले घट्न पुग्दा जुकरवर्गले सोमबार मात्र पाँच अर्बको घाटा बेहोर्नुपरेको छ ।

यता घटनामा संलग्न दुवै कम्पनीले भने आफूमाथिको आरोप गलत भएको ठहर गर्दै आएका छन् । डोनाल्ड ट्रम्पलाई चुनावमा विजयी बनाउन दुवै कम्पनीको मुख्य भूमिका रहेको अनुसन्धानले पत्ता लगाएको हो ।

वास्तवमा २०१४ मा बेलायती युनिभर्सिटीका विश्लेषक एलेक्सेन्डर कोगानले फेसबुकमा व्यक्तित्वबारे थाहा पाउने एक प्रकारको क्वीज निर्माण गरेका थिए ।

मानिसहरुमा त्यस प्रकारका एप र गेमहरु अहिलेसम्म पनि अत्यन्तै लोकप्रिय मानिँदै आएका छन् । त्यसैले उनले निर्माण गरेको क्वीज पनि केही समयमै फेसबुक पेजमा जताततै देखिन थालेको थियो । तर सो क्वीजले सहभागी प्रयोगकर्ताका साथै फेसबुक फ्रेन्डसको सहयोगले अन्य मानिसहरुको समेत गोप्यरुपमा व्यक्तिगत जानकारी संकलन गरिरहेको थियो । त्यसपछि प्रयोगकर्ताको जस्तोसुकै जानकारी हासिल गर्न सक्षम उक्त एपबारे थाहा पाउँदा फेसबुकले त्यसलाई तुरुन्तै हटाउन लगाएको थियो ।

उक्त क्वीजमा त्यस समय २ लाख प्रयोगकर्ताले भाग लिएका थिए भने उनीहरुको फ्रेन्ड लिस्टको मद्दतले अन्य ५ करोड अमेरिकी प्रयोगकर्ताको जानकारी समेत संकलित गरिएको थियो । यसपछि प्राप्त भएका सबै जानकारीहरु क्याम्ब्रिज एनालिटिकालाई बेचियो ।

यसरी खरिद गरेका गोप्य जानकारीलाई एनालिटिकाले मनोवैज्ञानिक तरिका अपनाइ मानिसहरुको सोचाइबारे अध्ययन गर्नमा प्रयोग गर्दै गयो । यसपछि त्यस्ता व्यक्तिहरुको छनोट गरी उनीहरुलाई ट्रम्पको समर्थनका लागि प्रोत्साहन गर्न विभिन्न सामग्रीसमेत पठाएको बताइएको छ ।

यसरी फेसबुकमार्फत जानकारीहरु चोरिँदा त्यसको धेरै तरिकाले दुरुपयोग भएको भेटियो । फेसबुकको नियममा पनि त्यस्ता जानकारीहरु शेयर गर्न नपाइने हुँदा पहिले नै सावधानी अपनाउनमा फेसबुकको गल्ती रहेको बताइएको छ ।

त्यस्तै अर्कोतर्फ क्वीजमा प्रत्यक्ष सहभागी भएका प्रयोगकर्तालाई भने आफ्ना गोप्य जानकारी लिइएको सम्बन्धि कुनै खबर नभएको हुँदा यसले व्यक्तिगत सुरक्षाको विषयमा समेत प्रश्न उठिरहेको बताइएको छ ।

सो जानकारीहरु चुनाव प्रचार अभियानमा प्रयोग भइरहेको सम्बन्धि केही थाहा नभएको हुँदा मानिसहरुको गोपनीयताको अधिकारमा समेत असर पुगेको बताइएको छ ।
उता फेसबुकले भने यसरी नियम उल्लंघन भएको थाहा पाउनासाथै कम्पनीलाई सबै जानकारी डिलिट गर्न लगाएको निश्चित गरेको बताएको छ ।

यसमा क्याम्ब्रिज एनालिटिकाले पनि फेसबुकले चेतावनी दिनासाथै सम्पूर्ण डाटा नष्ट गरेको दाबी गर्दै आएको छ । त्यसैले अहिले फेसबुक र बेलायती सूचना आयोगले ती सबै अवैधानिक जानकारी पूर्ण रुपमा डिलिट भए नभएको पत्ता लगाउने कोशिश गरिरहेको छ ।

यसप्रति अमेरिकी सिनेटरले कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई प्रयोगकर्ताको सुरक्षाका बारेमा आधिकारिक बयान दिन पनि आग्रह गरिसकेका छन् ।

विभिन्न एजेन्सीको सहयोगमा

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger