Latest Updates :

मुस्ताङ दुर्घटनाको पीडामा रोल्पा : एकैघरका ६ सहित ११ को मृत्युले पुरै गाउँ शोकमा ! एउटी आमाको काख रित्तियो

SHARE THIS POST :


लिबाङ, २३ असार । हिजो भएको मुस्ताङ दुर्घटनाले एउटा सिंगो गाउँ नै पडिामा छ । हिजोको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनासहित यहाँका ११ जनाले दुर्घटनामा ज्यान गुमाएसँगै सिंगो गाउँ पीडामा परेको हो ।



कामाका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन्। उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ। उनका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा मृत्यु भएको छ। धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा मृत्यु भएको छ।

मजदुरीमा मुस्ताङमै रहेका मृतक महेशका दाई रामबहादुर रोकाका अनुसार घटनामा रोल्पाका ११ जनाको मृत्यु भएको छ। ‘घटनास्थलमा काम गरिरहेका सबैजसोको मृत्यु भएको रामबहादुरले जानकारी दिए । ‘मेरै परिवारका ६ जना र बहिनीका पति (ज्वाईं) को समेत ज्यान गएको छ। ’, घटनास्थलमै रहेका रामबहादुर रोकाले भने, ‘आफन्तको शव हेर्न नसकेर म पनि अस्थायी क्याम्प फर्किएको छु। हाम्रो परिवारलाई ठूलो क्षति पुगेको छ।’

फोनको पहुँचमा नभएका मृतक महेशका आमा धनपुरी र बुबा हित रोकालाई छिमेकीको फोनबाट खबर छोडिएको थियो। घटना सुनेपछि सन्तानविहीन बन्न पुगेकी धनपुरी होसमा छैनन्। बुढ्यौली अवस्थामा पुगेका उनीहरू आँसुमा डुबेका छन्।

एकैघरका आधा दर्जनसहितको मृत्युको खबरले सबैलाई रुवाएको छ। फोन सेवाको समस्याले आफन्तले राम्रोसँग घटना बुझ्नसमेत पाएका छैनन्। राष्टेकी पत्नी लिला रोकालाई सम्हालिन गाह्रो भएको छ। आफ्नो परिवारका ६ जना सहित ११ जनाको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी छन्।

मृतको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने बताइएको छ। मृतकका वृद्ध बुबाआमा शव लिन जान सक्ने अवस्थाका छैनन्। मजदुरीमै गएका बाँचेका आफन्तले नै शव ल्याउने आशामा बसेका छन्। आफन्तले मृतकलाई क्षतिपुर्ति दिन माग गरेका छन्।

शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger