Latest Updates :

टिचिङ अस्पताल आइसियु गेटको त्यो कुकुर..जो मालिक आइसियुमा भर्ना हुँदा रुदै कुर्दै बस्यो

SHARE THIS POST :

‘एउटा कुकुर बिरामी मालिकसँगै शिक्षण अस्पतालको आइसियु पुग्यो । मालिक आइसियुमा भर्ना भए । कुकुर आइसियू बाहिरै रह्यो । उपचारकै क्रममा मालिकको मृत्यु भएपछि अर्कै ढोकाबाट शव निकालियो । तर कुकुर अझै मालिकको प्रतीक्षामा आइसियूको ढोकामा कुरेर बसिरहेको छ ।’

शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा बिरामी भेट्न पुगेकाहरुबाट २ महिनाअगाडिबाट सुरु भएको चर्चा बिस्तारै फैलँदै थियो ।

‘अहो ! कस्तो माया गर्ने कुकुर रहेछ,’ धेरै चुक्चुकाउँथे पनि ।

के टिचिङमा चर्चा भएअनुसार आइसियूअगाडि मालिकको प्रतीक्षामा बसिरहने कुनै कुकुर छ त ?
शुक्रबारकर्मी शुक्रबार शिक्षण अस्पतालको आइसियूअगाडि पुग्दा चर्चा भएझैं म्याटमा कुकुर थियो । कालो–खैरो रङको कुकुर स्याहार पुगेको झैँ देखिन्थ्यो ।

आइसियूका बिरामी कुरुवा बस्ने ठाउँनजिकै त्यो कुकुर पनि बसिरहेको थियो । बिरामी कुरुवाझैँ बसेको त्यही कुकुर हो त जो दिवंगत मालिकको प्रतीक्षामा छ ?

यो कुकुर सधैँ आइसियूको ढोकामा बस्ने गरेको शिक्षण अस्पतालका कतिपय कर्मचारीको उत्तर थियो । यो ‘फ्याक्ट’ पनि हो तर ऊ आइसियूको ढोकामै बस्नुको जुन कारण प्रचलित छ, त्यो भने ‘फिक्सन’ ठहरियो ।

अस्पतालको सिएसएसडी (कपडा व्यवस्थापन गर्ने विभाग) का महिला कर्मचारीका अनुसार दसैँपछि कुकुर आइसियूअगाडि देखिएको हो । यो कुकुर अधिकांश समय आइसियूको ढोकाअगाडि नै बस्छ तर कुकुरबारे चलेको चर्चाबारे भने आफूले थाहा नपाएको ती कर्मचारी बताउँछन् ।

महिला कर्मचारीबाट चलेको चर्चाको पुष्टि हुन नसकेपछि अस्पतालका आइटी सेक्सन प्रमुख कुमार केसीसँग यही जिज्ञासा राखियो । उनले अस्पतालमा धेरै कुकुर रहेकाले आइसियूअगाडि बसेको कुकुरबारे जानकारी नभएको बताए ।

‘अस्पतालमा खानेकुरा सजिलै पाइने भएकाले धेरै कुुकुर बस्छन्,’ उनले भने, ‘तर तपाईंले भनेजस्तै आइसियूअगाडि बस्ने कुकुर कुनै मालिकको यादमा तड्पेर बसेको होइन, ऊ पनि सहजै खाना पाइने आशामा बसेको होला ।’

कुकुरको कथा पुष्ट्याइँका लागि अस्पताल प्रशासन प्रमुख गोविन्द प्रधानसँग भेट्दा उनले अस्पतालमा कुकुरले दिएको दुःखको पोको नै फुकाए तर आइसियूको गेटअगाडि बस्ने त्यो कुकुरको रहस्य फुकाउन भने सकेनन् ।

‘दिवंगत मालिकको प्रतीक्षामा बसेको हो त ?’ भन्ने हाम्रो प्रश्नमा उनको उत्तर थियो, ‘कतैबाट आएर बसेको हुनसक्छ तर कहाँबाट आएको हो, मालिक कुरेर बसेको हो-हैन त्यो चाहिँ थाहा भएन ।’

प्रधानले त्यो खैरो कुकुरको रहस्य थाहा पाउन सेक्युरिटी सुपर भाइजर भरत श्रेष्ठलाई भेट्न सुझाव दिए ।
सुपरभाइजर श्रेष्ठलाई भेटेपछि बल्ल खैरो कुकुरको रहस्य खुल्यो ।

सेक्युरिटी श्रेष्ठका अनुसार कुकुर करिब दुई महिनादेखि आइसियूको गेटअगाडि बस्ने गरेको सत्य देखियो तर उसका बारेमा जे कुराको हल्ला सुनिन्थ्यो, त्यो मूल कारण नरहेको प्रस्ट भयो ।

‘त्यो कुकुर पहिला अस्पतालको गेटमा बस्थ्यो, दुब्लो थियो,’ श्रेष्ठले खुलासा गर्दै भने, ‘अस्पतालकै एक महिला कर्मचारीले मायाले भित्र ल्याएर केही खान दिएकी थिइन् । त्यही दिनदेखि यो आइसियूअगाडि बस्न थालेको हो ।’

श्रेष्ठका अनुसार उसले बिरामी र कुरुवा कसैलाई पनि आक्रमण गर्दैन । बिरामी कुरुवाले जे दिन्छन्, त्यही खाएर बस्छ । कुरुवासँगै सुत्छ । सेक्युरिटीले लखेट्न खोज्दा बिरामी कुरुवाले नै रोक्छन् ।
शुक्रवार साप्ताहिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Pages (19)1234567 Next

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger