Latest Updates :

यस्ता उदार श्रीमान : जस्ले अाफ्नै श्रीमती साथीलार्इ दिए उपहार : ‘मसँग दुई श्रीमती थिए, सल्लाहमै एउटी झम्केवीरलाई दिएँ’

SHARE THIS POST :
यस्ता उदार श्रीमान : जस्ले अाफ्नै श्रीमती साथीलार्इ दिए उपहार : ‘मसँग दुई श्रीमती थिए, सल्लाहमै एउटी झम्केवीरलाई दिएँ’ 
श्रीमती उपहार दिने कल्दुरे
‘दाइ ऊ त्यही मान्छे हो कल्दुर। उसैले दिएको आफ्नी एउटी श्रीमती झम्केवीरलाई।’सुन्दै अनौठो लाग्यो। बहिनी विमलाले यसो भनी सक्दा-नसक्दै म बेस्सरी हाँसे।
म हाँसेको देखेर उनी पनि हाँसिन्। एकछिनपछि म आधा हाँसे, आधा गम्भीर भएँ। ‘यस्तो पनि हुन्छ? अनि झम्केवीरले मान्यो त?’ मैले सोधें। गाउँभरिमा ताम्बागान्बाहरुले (तामाङ समाजका भद्रभलादमीहरु) भनेपछि दुवै जनाले मान्यो नि।’ उनले भनिन्।
पोहर साल महोत्तरीको खयरमारामा हामी दाजुबहिनीबीच भएको सम्वाद हो यो। गाउँबाट काठमाडौं आउँदै गर्दा गाउँको बसपार्कमा संयोगले भेट भएको थियो कल्दुरसँग। उनी बजारमा किनमेल गरेर घर गइरहेका थिए। गाडी छुट्ने समय भइसकेकाले त्यसबेला उनीसँग बोल्न पाइएन।
यसपालि दशैंमा त्यो अनौठो तर उदाहरणीय जोडीसँग भेट्ने चाहना निकै थियो। त्यही चाहाना मेट्न म उनीहरुको घर पुगेँ।
मध्य दशैंको दिन। मानिसहरु आ–आफ्नै काममा व्यस्त थिए। पर्वमय भएको थियो गाउँ। दशैं भित्रिएको संकेत बच्चाबच्चीको नयाँ नाना र आगनमा सुकाएको सुकुटीको दृश्यले दिइरहेको थियो। ती सबै दृश्यहरु छिचोल्दे म उनको घर गएँ। बुढुवा खोलाको छेउमा उनको घर। घरमाथि बाँसघारी। छेउमा केराका केही बोटहरु। घरमुनी थोरै धान फल्ने खेत। उनी त्यही खेतमा काम गरिरहेका थिए।
छेउमै थिइन्, उनकी जीवनसंगिनी। घरको वरीपरी ४/५ जना भल्ट्याङभुल्टुङ नानीहरु खेलिरहेका थिए। दशैंको रौनक त्यति थिएन। कामको चटारो देखिन्थ्यो। खेतमा काटेको धान बेस्सरी पानीले झिजाएछ। उनीहरु त्यही धान सम्हाल्न व्यस्त थिए।
मलाई देखेपछि कल्दुर काम छाडेर नजिक आए। ख्याउटे अनुहार। च्यापुमा झुसे दारी पालेका। शिरमा नेपाल प्रहरीको टोपी। रातो टिसर्ट लगाएका। उनी मेरो नजिकै आलीमा आएर टुक्रुक्क बसे।
पुलिस पनि हो तपाईं? उनी आलीमा बस्दै गर्दा मैले जिस्क्याउँदै सोधेँ। ‘कहाँको पुलिस हुनु, ईट्टाभट्टामा साथीले दिएको।’ उनले हाँस्दै भने। वातावरण केही क्षण हाँसोमय भयो। उनकी श्रीमती धानको कुनिउँ छेउमा अडेस लागेर बच्चालाई स्तनपान गराउन थालिन्। हामी एकअर्कामा गफिन लाग्यौं।

हुन त न श्रीमती उपहार हो, न श्रीमान् त्यसको हकदार नै। तर, समाजको सांस्कृतिक स्तर र आर्थिक सम्बन्धहरुले महिला-पुरुष सम्बन्धलाई अनेक सीमा र सम्बन्धमा बाँधिदिन्छन्। महोत्तरीको खयरमाराका दुई परिवारबीचको सम्बन्ध त्यस्तै छ, सुन्दा कतिलाई अनौठो लाग्न सक्छ, कतिलाई रमाइलो।

हालखबर साटासाटपछि मैले उनीसँग भेट्न आउनुको उद्देश्य बताएँ। उनी अलि लजाए। हाम्रो कुरा सुनेर उनीकी श्रीमती पनि हाँसिन्। ‘पाङ्नुन तोबोम् सम्धी?’ (भन्नै पर्ने हो र सम्धी) केहीबेर हाँस्दै लजाएर उनले तामाङ भाषामै सोधे।

प्रायः कुटुम्ब पर्नेसँग पनि सम्धी भन्ने चलन हुन्छ तामाङमा। उनले त्यही सुविधा प्रयोग गर्दै मलाई भने। मैले उनलाई कुनै नकारात्मक समाचार नबनाउने, बरु उदाहरणीय कार्यलाई सकारात्मक ढंगले उजागर गर्ने भन्दै आश्वस्त पारेँ।
निकैबेर गमेपछि तामाङ भाषामै सुरु गरे उनले आफ्नो जीवन-कहानी।
यसरी भए सोमबहादुरबाट कल्दुर
उनका बाउबाजेसँग मधेसको झाडी फँडानी गर्ने बेला पचासौं बिगाहा जमिन रहेछ। उनको बुवाको पालासम्म पनि उनी २५/३० बिघाका मालिक रहेछन्। सिन्धुलीसहित पहाडी भूभागबाट मधेसमा बसाइँ सरेकामध्ये कतिपयले उनको बुवालाई भेटे। उनीहरुलाई इमान्दार र सोझो उनको बुवाले कति जमिन त्यतिकै दिए। कतिले मित लगाउँदै हडपे। ‘एक बटुका जाँडमा एक बिघा जमिन पनि दिनु भयो रे आपाले।’ उनले मसिनो स्वरमा सुनाए।
जाँडरक्सी कुलतमा कल्दुरका बुवा फँस्दै गए। अन्तिममा कल्दुरसँग न बुवा नै बाँकी रह्यो, न कुनै जमिन। उनलाई बिमारी आमाले समेत सानैमा छाडेर कहिल्यै नआउने गरी गइन्। घरबारीसमेत बाँकी रहेन। यसरी उनी एक्लो, बिलकुल एक्लो भए। एक्लो भएपछि उनको नाम सोमबहादुर डिम्डोङबाट कल्दुरमा फेरियो।
त्यसपछि उनी कहिले बाटो खन्न ताप्लेजुङ पुगे, कहिले ढुङ्गामा जाली भर्न सिराहा।
एकदिन गाउँमा इँटाभट्टामा राम्रो कमाइ हुने हल्ला चल्यो। दशैंतिहारपछि घरमा ताला लाग्न थाल्यो। बालबच्चा च्यापेर नाइट बस चढी, काठमाडौं पुग्नेको ताँती बाक्लो हुँदै गयो। त्यही ताँतीमा पछि लागेर कल्दुर ६५ सालमा काठमाडौं आइपुगे।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :

MB

 
Support : Mas Template
Copyright © 2017. NepalUsakhabarsangam
Proudly powered by Blogger